उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिँदै

काठमाडौं । मिथिलाञ्चल मूल थलो भएकाहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गर्दैछन् । पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन् ।
यसअघि आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए । छठका व्रतालुले कार्तिक शुक्ल षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । तर तिथिको घटबढका कारण सोमबार अष्टमी तिथि परेको छ । आइतबार बिहान षष्ठी तिथि परेको थियो भने बिहान ७ः५२ मै सप्तमी तिथि लागेको थियो।
सप्तमी तिथि सोमबार बिहान ५ः३९ बजेसम्म थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ । छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ । विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ ।
प्रतिकृया दिनुहोस