सबैको सहमतिले टिकटक बन्द गरिएको होः प्रधानमन्त्री प्रचण्ड (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष, प्रतिपक्ष सबैको सहमतिले टिकटक बन्द गरिएको बताएका छन्।
नेपाल सम्वत् ११४४ को अवसरमा मध्यपुर थिमी, भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले समाजमा विसंगति, विकृति, अराजकता, फैलाउने र राज्यको जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक बन्द गरिएको बताए।
‘समाजमा विसंगति, विकृति, अराजकता, फैलाउने र राज्यको जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाइ के गरी नियन्त्रण गर्ने भन्ने विषयमा लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष, के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहसको सहमतिपछि र अन्तर्राष्ट्रियरूपमा पनि सबैभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सद्भाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्धेश्यले गरेको कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने।
जति निर्णय गरिएका छन् यसबारे बहस हुँदै जाने र टिकटक बन्द गर्दा कतिपयलाई चित्त नबुझेको कुरा पनि प्रधानमन्त्री प्रचण्डले स्वीकार गरे।
‘यो बहस त हुँदै जाला, विमतिहरू पनि होलान् तर सरकारको उद्देश्य कम्तीमा पनि म प्रधानमन्त्रीको हैसियतले नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउने प्रवृत्तिलाई नियमन गर्नुपर्छ, रोक्न सक्नेलाई रोक्नुपर्छ। नियमन गर्नुुपर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु। केही साथीलाई चित्त बुझेको छैन, छलफल हुँदै जाला,’ उनले भने।
मन्त्रिपरिषद्को बैठकले सोमबार टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयपछि हिजै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थाहरूलाई पत्र लेखेर टिकटक बन्द गर्न परिपत्र गरेको थियो। प्राधिकरणको निर्देशनअनुसार केही सर्भरमा टिकटक खाता खुल्दैन।
प्रतिकृया दिनुहोस