गैह्रीगाउँ हत्याकाण्ड: सञ्जय भण्डारीले लेखे ‘आई किल्ड फोर पिपल’

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको सामुहिक हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीले आफूले हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा आइतबार पक्राउ गरेको हो । सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो ।
उनी बोल्न नसक्ने र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ । पक्राउपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेर अपराध स्वीकार गरेका थिए । वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग बस्दै आएका नवीन राईसँग अभियुक्त भण्डारीको रिसीईबीका कारण हत्या भएको पाइएको छ ।
केही दिनअघि चाबहिलमा नवीनले चलाएको मोटरसाइकलको ठक्करबाट भण्डारी घाइते भएका थिए । आफूलाई घाइते बनाएका नवीनले उल्टै दुव्र्यवहार गरेको उनले बयानमा बताएका छन् । शुक्रबार राति भने भण्डारी नवीन बस्ने फर्निचरमा पुगेका थिए । केही विवादपछि उनले झोलामा राखेको कुखुरी निकाले र नवीनको हत्या गरे ।
त्यसपछि निस्किँदै गर्दा उनले तल्लो तलामा बस्ने थप तीन जनाको पनि थाहा पाउने डरले हत्या गरेको स्वीकार गरेका छन् । थाहा पाउने डरले दिव्य सःमिलमा सुरक्षा गार्ड कुमार भुजेलसहित उनकी श्रीमती अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि हत्या गरेका थिए ।
तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । त्यहाँ उनको साथीको घर थियो । राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र पुगेका थिए । तर त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको जिल्ला प्रहरी परिसर टेकुले जानकारी दियो ।
चार जनाको हत्यापछि आरोपी भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको थियो ।
गैह्रीगाउँस्थित दिव्य स–मिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो । सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस