• २०८० जेठ २५ बिहीबार
  • Thursday, 8 June, 2023

शरणार्थी प्रकरणः ३० जनाविरुद्ध ५ वटा कसुरमा मुद्दा दर्ता, कुन कसूरमा कति सजाय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सबै ३० जना प्रतिवादीविरुद्ध ५ वटा कसूर लगाउने निर्णय गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेकाहरुविरुद्ध ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा  दर्ता गराएको हो।

सरकारी वकिल कार्यालय काठमाडौं प्रमुख अच्युतमणि नेउपानेले उनीहरुविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जानकारी दिए । यो प्रकरणमा पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी रहेका छन्।

यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । फरार रहेका बचन झा, रमा थापा र गोकुल थापालाई पनि प्रहरीले संलग्न देखिएको बताए पनि अहिलेको मुद्दामा भने प्रतिवादी रहने छैनन् । फरार रहनेमा प्रतिक र इन्द्रजितका छोरा निरज सहित रहेका छन्। 

यस्तै केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन कुमार खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशीष बुढाथोकी रहेका छन् ।   ठगीमा बिगो, ७० हजार रुपैयाँसम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय हुन्छ ।
यस्तै, संगठित अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुन्छ।  एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसूरको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसूर बापतको सजायको आधा सजाय थप गरि सजाय गर्नुपर्ने कानूनी व्यवस्था छ । यस्तै, राष्ट्रहित प्रतिकुल कार्य गर्न नहुने कसूरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

कीर्ते गर्न नहुने कसूरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सार्वजनिक ओहोदामा बसेर भएको अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुने कानुनी व्यवस्था छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर