पारो बढेको छ

आज देशको पारो बढेको छ
देशसँग मेरो पनि पारो बढेको छ ।
देशमा सहनै नसक्ने महारोग लाग्यो
सानातिना रोग त देशले पचाएकै हो ।
तर, नक्कली भुटानी शरणार्थीको रोग
देशले पचाउन सकेन
रोगको प्रभाव विदेशमा पनि देखिई सक्यो ,
रोग नपाकुन्जेल छोप्न मिल्ने,
अरू सुन पानीले चोख्याउन मिल्ने
तर,
पाकेर गनाए पछि न छोप्न मिल्ने, न चोख्याउन मिल्ने
राजनीति डाक्टरले रोगलाई सुकाउने धेरै कोशिस गरे
रोग सबैतिर फैलिईसक्यो
त्यसैले
डाक्टरहरूको पनि पारो बढेको छ ।
सुन्दा, मेरो पनि पारो झनै बढेको छ
अोम्नी जस्ता कयौं रोग त सजिलै पचाएकै हो
पालैपालो गरेर, मिलीमिली
शिवरात्रीमा आउने नाङ्गे बाबाको दर्शन गर्ने गरेकै हो
हामीले यसलाई पचाएकै हौँ
हनुमानको छाति चिर्दा राम भेटिए
सबैमा राम देख्ने जनता, मानिसलाई देवता देखे
देवत्वकरणको फलिफाफ देशले भोग्दैछ
मान्छेलाई देवता बनाउँदा
देशको पारो बढेको छ
देशसँगै मेरो पारो झनै बढेको छ
कमाउन पनि बुद्धि चाहिन्छ ,मिलाउनु पर्छ
अलिकति कागज मिलाएको त हो,
मिलाउने हाम्रो परम्परा ,जे गरेपनि मिलाउने
कर्मचारी मिलाउने ,ठेकेदार मिलाउने,नेता मिलाउने
तलदेखि माथिसम्म मिलाउने
नक्कली भुटानी शरणार्थी पहिले मिलाएकै रहेछ
अमेरिका जानेबाट रकम मिलाएर लिएकै रहेछ
दिनेलाई मिलाएर दिएकै रहेछ
पहिला सबै मिलेकै हुन्,
नियतिले भाग्य खोटो भएपछि
मुखमा आएको पनि हावाले उडाइ दियो
तर
म सहन बानी परेकोले सहेकै थिएँ
जब देश जोडियो
तब मेरो पनि पारो बढेको बढ्यै छ ।
प्रतिकृया दिनुहोस