खेलकुदमा भित्रिएको ‘अपराध’, म्याच/स्पट फिक्सिङ के हो ? कसरी हुन्छ ?

काठमाडौं । फिक्सिङले खेलाडीको करियर मात्र होइन पुरै खेल संरचनालाइनै तहसनहस बनाइदिन्छ । त्यसैले विश्व खेलकुदले फिक्सिङलाई अपराध मान्छ । फिक्सिङ खेल क्षेत्रको अध्यारो पाटो हो ।
अहिले नेपाली क्रिकेट यहि ग्रहणमा छोपिएको छ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको पहिलो फ्रेन्चाइज नेपाल टि ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको आरोपमा प्रहरीले सोमबार दुई खेलाडीलाई पक्राउ गरेको हो ।
राष्ट्रिय टिमका अल राउण्डर आदिल अन्सारीलाई प्रहरीले सप्तरीको राजविराजमा क्रिकेट खेल्दै गरेको समयमा नियन्त्रणमा लिएको थियो ।
किर्तिमानी पूर्व राष्ट्रिय खेलाडी महबुब आलम मोरङको विराटनगर बाट पक्राउ परे । नेपाली क्रिकेटमा फिक्सिङको यो पहिलो घटना हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले ३ नेपाली र ७ विदेशी गरी १० जना माथि अनुसन्धान गरिरहेको छ । जसमा दुई जना पक्राउ परिसकेका छन् ।
सिआइबीले फिक्सिङ बारे अनुसन्धान सुरु गर्दानै लिग खेल्न आएका विदेशी खेलाडी स्वदेश फर्किसकेको बतायो । यस्तै क्यानले लिगका लागि आठ वर्षको सहकार्य गरेको भारतको सेभेन थ्रि स्पोर्टसका संस्थापक जतिन अलुवालिया पनि जानकारीनै नदिइ नेपालबाट भागिसकेका थिए ।
सेभेन थ्रि स्पोर्टस पनि अनुसन्धानको दायरामा छ । प्रहरीका अनुसार टि ट्वान्टी लिग फिक्सिङकै लागि आयोजना भएको थियो ।
गत पुष नौ देखी २७ गते सम्म किर्तिपुर स्थित टियु मैदानमा भएको लिगमा ६ फ्रेन्चाइज टिमले सहभागी दिलाएका थिए । सुरुवात देखीनै विवादमा आएको लिगमा फिक्सिङ भएको भन्दै कमेन्टटेटर सचिन तिमिल्सिना सामाजिक संजालमा भिडियो पोस्ट गर्दै आफ्नो जिम्मेवारी बाट अलगिए ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले आफ्नो टिमका खेलाडीलाई फिक्सिङको अप्रोच आएको खुलासा गरेका थिए ।
लिगमा ज्ञानेन्द्रले काठमाडौं नाइटसको नेतृत्व गरेका थिए । तर सो वेला क्यानले फिक्सिङको आरोप तथ्यहिन र भ्रम फैलाउने काम मात्र भएको दाबी गरेको थियो । फिक्सिङको घटना बाहिर आएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको टोली अकास्मत नेपाल आएको थियो । राष्ट्रिय खेलकुद परिषदले पनि छानविन समिति बनायो ।
सिआइबीले लिगसँग जोडिएका प्रायः सवैलाई अनुसन्धानको दायरामा ल्याएको थियो ।
पक्राउ परेका आदिल र महबुब हो हुन ?
महबुब आलम
४१ वर्षिय महबुब आफ्नो समयका स्टार खेलाडी हुन् । उनको नाममा दुर्लभ विश्व किर्तिमान पनि छ । महबुबले सन २००८ मे २५ मा विश्व क्रिकेट लिग डिभिजन फाइभमा मोजाम्बिक विरुद्ध दश विकेट लिएका थिए । एकै खेलमा दश विकेट लिने उनी विश्वकै पहिलो खेलाडी हुन् । अहिले सम्म उनको किर्तिमान कसैले तोड्न सकेको छैन् । सात ओभर ५ वलमा एक ओभर मेडन राख्दै महबुबले मात्र १२ रन खर्चिएका थिए ।
महबुबले पहिलो पटक २००० मा श्रीलङकामा भएको अन्डर नाइन्टिन विश्वकप मार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेका थिए । सोही वर्ष युएइमा एसीसी ट्रफी अन्र्तगत जापान विरुद्धको खेल मार्फत महबुबले सिनियर टिममा डेब्यु गरेका हुन ।
उनले पछिल्लो पटक राष्ट्रिय टिमबाट २०१७ मा खेलेका थिए । उनी नेपाल टि ट्वान्टी लिगमा प्रत्यक्ष रुपमा सहभागी थिएनन् । उनले सेभेन थ्रि स्पोटर्सका संस्थापक जतिनको सम्पर्कमा रहेर खेलाडीलाई प्रस्ताव गरेको बताइएको छ ।
आदिल अन्सारी
आदिल अन्सरी नेपाली क्रिकेटको भविष्यका रुपमा हेरिएका युवा खेलाडी हुन् । अलराउन्डर आदिलले नेपाल टि ट्वान्टी लिगमा जनकपुर रोयल्स बाट खेलेका थिए । रोयल्सले खेलेका कुल १२ खेलमध्य आदिलले आठ खेल खेलेका थिए । लिग चरणमा फार वेस्ट युनाइटेड संगको खेलमा उनले फालेको नो वललाई फिक्सिङको आधार मानिएको बताइएको छ ।
मधेश प्रदेश बाट घरेलु प्रतियोगिता खेल्ने आदिलले छोटो समयमानै राष्ट्रिय टिमको यात्रा तय गरेका हुन् । उनी आक्रमक ब्याटिङ गर्न माहिर छन् । हेलिकप्टर सटका कारण १९ वर्षिय आदिल समर्थक माझ लोकिप्रिय छन् ।
सन २०२२ मार्च मा किर्तिपुर स्थित टियु मैदानमान नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलत त्रिकोणात्मक टि ट्वान्टी सिरिज भएको थियो । आदिलले ३१ मार्चमा पपुवा न्युगिनी विरुद्धको खेल मार्फत सिनियर टिममा डेब्यु गरेका थिए । उनले ड्रिम डेब्यु गरे ।
११ वलमा ३१ रन प्रहार गरेपछि उनी सवैको नजरमा परे । एकदिवसीय अन्तर्राष्ट्रियमा भने उनले जुन एघारमा अमेरिकासँग को खेलमा डेब्यु गरेका हुन् ।
नेपाली खेलकुदमा फिक्सिङको यो दोस्रो घटना हो । यसअघि २०७२ सालमा फुटवलका सागर थापा, रितेश थापा लगायत पाँच जना पक्राउ परेका थिए । सो वेला नेपालमा फिक्सिङ सम्बन्धी कानुन थिएन् । प्रहरीले उनीहरु माथि देशद्रोहको मुद्धा चलाएको थियो । त्यसपछि भने नेपालमा फिक्सिङ सम्बन्धी कानुन बन्यो ।
के छ कानुन ?
संसारभर फिक्सिङलाई अपराध मानिन्छ ।
– नेपालमा पनि फिक्सिङ गैरकानुनी छ ।
– नेपालमा सट्टेबाजी पनि गर्न पाइँदैन ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार सजायको व्यवस्था
– कसूर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना ।
– रकम लेनदेन गरेको भएमा उपदफा कैद र आर्थिक जरिवाना अतिरिक्त लेनदेन गरेको रकमसमेत जफत ।
– कसूर गर्न उक्साउनेलाई पनि मुख्य कसूरदार सरह सजाय ।
– सार्वजनिक पद धारण गरेको व्यक्तिलाई तीन वर्षसम्म थप कैद ।
फिक्सिङ भनेको के हो ?
कुनैपनि खेलको नतिजालाई गैरकानुनी र नियम विपरित परिवर्तन गर्ने र आफ्नो अनुकुल बनाउने काम हुनु फिक्सिङ हो । यस्तो खेलमा नतिनाको अनुमान पहिलानै गरिएको हुन्छ । र अनुमान अनुसारको नतिजा निकाल्नका लागि अफिसियल, प्रशिक्षक, रेफ्रि, खेलाडीहरुलाई प्रयोग गरिएको हुन्छ ।
पूर्व निर्धारित नतिजा प्राप्तिका लागि खेलको नियम र कानुनको समेत उल्ङ्घन गरिन्छ । फिक्सिङमा पुरै टिम, अथवा एक खेलाडी मात्र, प्रशिक्षक , रेफ्रि वा अम्पायर जो पनि संलग्न रहन सक्न्छन् । उनीहरु फिक्सरको सम्पर्कमा रहन्छन् ।
फिक्सिङमा पनि तपाइले म्याच फिक्सिङ र स्पट फिक्सिङ भन्ने शब्दहरु बारम्बार सुन्नुभएको होला । झटट् सुन्दा यी दुवै एउटै हो जस्तो लाग्छ । तर म्याच फिक्सिङ र स्पट फिक्सिङ फरक हुन् ।
म्याच फिक्सिङ के हो त ?
म्याच फिक्सिङमा पुरै खेलको नतिजालाई बदल्ने संभावना रहन्छ । यसमा पुरै टिम पनि सहभागी हुन सक्छ । उदाहरणका लागि कुन ओभरमा कति रन बनाउने, पावर प्लेको नतिजा, ब्याटरलाई बाउण्ड्रीको मौका दिने लगायत बिषय खेल अघिनै निर्धारित हुन्छन् । बुगिको निर्देशन अनुसार पुरै टिमले खेल्छ ।
स्पट फिक्सिङ
कुनै एक क्षेत्रमा केन्द्रित रहन्छ । फिक्सरले एक खेलाडीलाई सम्पर्क गरेर सिमित ओभरमा नोबल, वाइड, बाउण्ड्रीका लागि निर्देशन दिन्छ । पछिल्लो समय बुगी र सट्टेबाजहरुका लागि सहज बनेको अपराध स्पट फिक्सीङ नै हो ।
समाजिक सञ्जाल, फोन , म्यासेज, वा तेस्रो ब्यक्तिको सम्पर्कबाट खेलाडी नजिक पुग्नु र एक खेलाडीलाई प्रलोभनमा पारेर बिभिन्न ओभर, बल, लगायत आफु अनुकुल गर्न लगाउनु स्पट फिक्सिङ हो ।
यसले पुरै खेलको नतिजा प्रभावित हुन र नहुन पनि सक्छ । तर खेल भने प्रभावित हुन्छ । कहिले काँही टिमलेनै जानी जानी खेल हार्ने वा जित्ने पनि गर्न सक्छ ।
कस्ता खेलाडी टार्गेटमा हुन्छन ?
खेलमा फिक्सिङको कारण र उद्देश्य पैसा कमाउनु हो । आर्थिक रुपमा कमजोर तथा तलब कम भएका खेलाडी फिक्सरको टार्गेटमा पर्ने गरेका छन् ।
के भन्छ क्यान
सुरुमा क्यानले फिक्सिङलाई विपक्षीले षडयन्त्र गरेको भन्ने आरोप लगाएको थियो । अहिले भने संसारका जुनसुकै लिगमा पनि फिक्सिङको संभावना हुने हुँदा सुरुवात बाटै सिआइबी सँग सम्वन्य गरेको बताएको छ । आफ्नो तर्फबाट अनुसन्धानमा पुर्ण सहयोग रहेको उसको भनाई छ ।
नेपाली क्रिकेटको क्षतिका रुपमा खेलाडी पक्राउ घटनालाई ब्याख्या गरेको क्यानले आरोप प्रमाणित भए देशको कानुन अनुसार कारबाही हुनु पर्ने प्रतिकृया दिएको छ । क्यानले आफ्नो तर्फबाट पनि कारबाही गर्ने उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस