• २०७९ माघ २५ बुधबार
  • Wednesday, 8 February, 2023

लोपोन्मुख धरोहर संरक्षणको र्खाइमा

ओखलढुंगा जिल्लाको पोकलीमा पुलको जग खन्दा ढुङ्गाको कोल भेटियो । जो कलात्मक र निकै आकर्षक रहेछ । हामी यस्ता लोपोन्मुख धरोहरको संरक्षण गर्दैनौं ।

विविध कारणले हराईसकेका चिज फेलापर्दा दङ्ग पर्छौ । आज भन्दा पचास बर्ष पहिलेसम्म उखु, तोरी, निबुवाआदि पेलेर रस निकाल्न ढुङ्गा, काठका मुढाआदिका कोल बनाएर पेलिन्थे । स्थानीय उखुबाट खुँदो, सख्खर बनाएर गुलियोको आवस्यकता पुरा गरिन्थ्यो । त्यसबेला चिनीको चलन थिएन । त्यहि खुँदो र सुर्ति मिलाएर तमाखु बनाइन्थ्यो । पारखीहरू हुक्का तान्थे ।

हरेक समाज सानोतिनो भएपनि उत्पादनमा सरिक हुन्थ्यो । त्यसबेलाको जनजीवन आत्मनिर्भर थियो । हाम्रो गाउँ घरमा काठका ठूलाठूला मुढाको कोल बनाएको मैले देखेको थिएँ । ओखलढुंगाकाे पलापु, बोलुङबोलुङ, रामेछापकाे सिरुवारी आदि ठाउँमा काठका मुढा भुँईंमा गाडेर कोलका रुपमा प्रयोग भएका ठाडा कोलहरू संरक्षित भएका कारण पछिल्लो चरणमा पनि देख्न पाइन्छ । भनाई नै छ  ‘दिंदा नखाने, राती कोल चाट्ने ।’ ति चाटिने कोल यीनै थिए ।

लिखुखोला क्षेत्रमा गामनाङ ढुङ्गे कलामा अग्रणी रहेछ । म सानै उमेरमा पनि पढ्न भनेर गामनाङ गएको थिएँ । त्यसबेला बालक कालको चेतनाले त्यहाँस्थित संरचनाहरू थोरै मात्र टिप्न सक्यो । जव म विद्यालयमा पढाउन भनेर युवा अवस्थामा गामनाङ गएँ । त्यसबेला चेतना केहि उठि सकेको थियो । रहँदा बस्दा म ढाप केदारनाथ भट्टराईका घरमा डेरा गर्न पुगें । त्यस बेला सर्वप्रथम मैले ढापमा ढुङ्गे कोल देखें ।

ढुङ्गे कोल मात्र होइन, ढुङ्गे धारो, ढुङ्गे तगारो, ढुङ्गे डुँड, पानी ल्याउने ढुङ्गाको पाइप लाइन, दलानमा कुँदिएका ढुङ्गाका पङ्तिआदि ढुङ्गैढुङ्गाका संरचना । त्यसका बारेमा चासो राखेर एकदिन भानिज दाजु यादवप्रसाद भट्टराईसंग सोधें, साथमा भाउजु पनि हुनुहुन्थ्यो ।

यी सव कसले बनायो ? उहाँहरूले भन्नु भयो पिताजी हेमशागर भट्टराईका समयमा जेलबाट छुटेर यता आएका भोजपुर तिरका एकजना विश्वकर्मा थिए । पिताजीका आदेशमा उनै विश्वकर्माले बनाएका हुन् ।

त्यस पछि यी ढुङ्गे कोल र अन्य संरचनाहरूका बारेमा चासो राख्दै गएँ । त्यहि समयमा उनै विश्वकर्माद्वारा गामनाङकै बाँझाबारीमा हरिप्रसाद भट्टराईका करेशामा अर्को कोल स्थापना गरेछन् । डुँडेखोलो तरेर टारकेराबारी हरिप्रसाद पौडेलका घर (माजाघर) छेउमा पनि सोही आकृतिको अर्को ढुङ्गे कोल बनाएको पाइन्छ । जो आजसम्म भौतिक रुपमा जस्ताका तस्तै भएर पनि प्रयोग विहिन अवस्थामा छन् । 

थप नयाँ ठाउँमा कोल भेटिनु गर्वको कुरा हो । स्थानीय बुढापाकालाई मसिनो गरेर सोधखोज गरौं । कतै पोकलीको ढुङ्गे कोल पनि ढापाली हेमशागर भट्टराई कालीन उनै विश्वकर्माद्वारा निर्मित ढुङ्गे कोल पो हो कि ? माथी उल्लेखित तीनवटा ढुङ्गे कोल पनि एक सताब्दी अगाडिका धरोहर हुन् । एक समय गामनाङ दिगो संरचनाको युगमा प्रवेश गरेको रहेछ । खरबारी जीवप्रसाद भट्टराईले दुईजना मानिस सुत्न मिल्ने फलेकजस्तो ढुङ्गो सिम्लेदेखि बोकाएर आफ्नो दलानमा फलैंचा बनाए । उहाँका नाति रामप्रसाद भट्टराईको दलानमा उक्त फलैंचा आजसम्म पनि छँदैछ ।
 
समाजले सय वर्षमा धेरै कुरा विर्सिन सक्छ । अब केही दशक पछि जाँतो, घट्ट, ढिकी पनि चलनचल्तिबाट लोप हुन्छ । हाम्रो गाउँठाउँमा पाषण युगमा प्रचलित ढुङ्गे हतियार पनि भेटिन सक्छन् । बञ्चरो आकृतिको ढुङ्गालाई गाउँघरमा ‘बज्रले हानेको ढुङ्गो’ भन्ने गरिन्छ । जो बज्रले हानेको ढुङ्गो नभएर ढुङ्गे युगको हतियार हो । हाम्रा गाउँघरमा यस्ता धेरै ढुङ्गे आकृतिहरू छन् । जो ढुङ्गे युगका अवशेषहरू हुन् । आज मेसिनको युग आइसक्यो । मेसिनलाई कल भन्छन्, त्यसैले कलीयुग ।

ठाउँठाउँमा विकट पहरामा कडा चट्टान खोपेर तामा निकालिएको छ । ती ठाउँलाई टोपाखानी भन्ने गर्दछन् । ‌खलढुंगाकाे डुँडेखोला देवीटार आसपास टारकेराबारी र रामेछापतर्फ रोल्फुवन सैपु, खानीटार सैपु, काङ्वा विजुलीकोट, बेशीटोल साँघुटार, खानीखोला सिरुवारी देउरालीमा विगतमा पहरो छेडेर तामा निकालिएका सुरुङहरू छन् । तामा विश्वमा पहिलो पटक प्रयोगमा आएको धातु हो । त्यसैले कतिपय समाजका मानिसले तामालाई देवता मानेर ढोग्ने गर्छन् ।

लर्खु खोलामा पहरो छेडेर स्वाँराखेत लगायत सिञ्चाई गर्नका खातिर सुरुङ बनाएर कुलो कटाइएको छ । पलापुको मकुवा खोलाबाट तिपचउर सिञ्चाईका निम्ती पनि स्थानीय श्रोत र साधनबाट पहरो छेडेर सुरुङ तयार गरेर कुलो कटाइएको छ । लर्खु खोला बाटै धुसिनी लाने अप्ठ्यारो अक्करबाट पहरो काटेर कुलो निर्माण गरिएको छ । त्यसैगरी चोक्टेखोलाबाट ढाँडेबेशीतर्फ कडा चट्टानी पहरो काटेर लगिएको कुलो पनि रहेकेा छ ।

कुवापानी खोलाबाट दत्रुङ्गेलाने साँघुटारको झोलुङ्गेपुल नजिकबाट गुज्रिएको कुलो । हाडीखोला हुँदै साँघुटार लाने कुलो । पुरानो साँघुटारबाट साँघुटार बजारतर्फ सतिदह माथी खनिएको कुलो । यसरी लिखु खोला भरिमा अनेकौं पहरा कपेर कुलाहरू निर्माण गरिएका छन् । वीरे बेशीबाट पोकुबेशी जान पहरामा पुर्खाका पालामा कडा चट्टानमा आकर्षक सिंडीहरू बनाइएका छन् ।

गामनाङमा त मुलपँधेरामा गाउँभरीका गाई भैंसीलाई पानी खान पुग्ने गरि निकै ठूलो ढुङ्गामा कुदिएको डुँड लिखु उपत्यकाकै सवैभन्दा ठूलो ढुङ्गे डुँड हो । बोधनाथ भट्टराईका आँगनमा घोडालाई पानी खुवाउन बनाइएको गहिरो डुँड निकै आकर्षक लाग्दछ । षणकृष्ण भट्टराईका घरको कलात्मक ढुङ्गेखलआदि महत्वपूर्ण कलाकृति हुन् ।

अवको सयौं बर्ष पछि सभ्यताले फड्को मारिसक्नेछ । त्यसवेला हाम्रा पुर्खाद्वारा निर्मित यी बस्तुहरू प्रयोग विहिन हुँदै जानेछन् । कैयन् पुस्ता वितेपछि सन्तान दरसन्तानमा इतिहासका बस्तुको प्रयोगात्मक ज्ञान कमजोर हुँदै जाने छ । पछिल्लो पुस्ताले ती बस्तुहरू भेट्दै जाँदा आजका हामीले ढुङ्गे कोल भेट्दा भन्दा बढ्ता आश्चर्य मान्नेछन् ।

माथीका कलाकृति निर्माण गरेर समाजलाई सुम्पिने भोजपुरे विश्वकर्मादेखि अन्य सवै कालिगडहरू को को हुनुहुन्थ्यो ? त्यसको खोजी गरेर सूचिकृत गरिराख्नु हाम्रो कर्तब्य हो । आगामी सन्ततिहरूलाई हाम्रा पूर्खाले हामीलाई छाडेर गएका सम्पदा जस्ताको तस्तै छाडेर मर्नपाए कति राम्रो हुँदोहो ?
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर