• २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022

कालिका विद्यापीठ : समाजसेवी सापकोटाको सपना

चितवन । करिब दुई साताअघि राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा गैँडाकोटका समाजसेवी तिलक सापकोटालाई भेट्न उनको निवास पुगेका थिए । साथमा म पनि थिएँ । हामीलाई भेटेपछि सापकोटाको पहिलो गुनासो थियो, ‘लौन कालिका संस्कृत विद्यापीठमा आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा विज्ञान र थापत्य शास्त्रको पठनपाठनका लागि पहल गरिदिनुपर्‍यो । हामीले प्रक्रिया त अघि बढाएका छौँ अब यहाँहरुले सञ्चारमाध्यमबाट पनि दबाब दिनुपर्‍यो ।’ 

जीवनका पछिल्ला दिनहरुलाई उनले यही विद्यापीठको विकास र विस्तारमा लगाएका थिए । विद्यापीठको विकास र विस्तारमा उनी समर्पित थिए । सञ्चारमाध्यममार्फत विद्यापीठमा ती कार्यक्रम सञ्चालनका लागि पहल र दबाब दिन उनले हामीलाई पनि आग्रह गरे । मैले एकदुई दिनमा भेटेर यस विषयमा समाचार बनाउने उनलाई बताएँ ।  

अक्सिजनको सहायतामा घरमा आराम गरिरहेका सापकोटामा आफू अस्वस्थ हुँदा पनि ऊर्जामा कुनै कमी थिएन । आफ्नै पहलमा स्थापना भएको विद्यापीठमा महत्वपूर्ण शैक्षिक कार्यक्रम ल्याउने उनको सपना अन्तिम अवस्थासम्म पनि रही नै रह्यो । हामीलाई गुनासो गरेको पाचौँ दिन (कात्तिक २३ गते) उनी त्यही आधुरो सपना बोकेर सदाका लागि बिदा भए । 

विद्यापीठको बाटो भएर सापकोटाको पार्थिव शरीरलाई नारायणी नदीतर्फ लैजाँदै गर्दा विद्यपीठका उपाध्यक्ष एवं गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले सापकोटाको अधुरो सपना पूरा गर्नेतर्फ आफू लाग्ने प्रण गरे । कात्तिक २५ गते गैँडाकोटस्थित उनको घरबाट सुरु भएको शवयात्राका क्रममा उनलाई सो विद्यापीठमा एकै छिन राखियो र उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो । त्यस क्रममा त्यहाँका प्राध्यापक एवं कर्मचारी स्तब्ध थिए, केही बोल्न सकिरहेका थिएनन्, धेरैका आँखामा आँसु थिए । उनीहरु भन्दै थिए, ‘यो विद्यापीठले उहाँलाई अमर बनाउने छ ।’ गैँडाकोट मात्रै नभएर सिंगो नेपालकै सामाजिक क्षेत्रको एक धरोहरको सपना रहेकाले आफूहरुले पूरा गर्नुपर्छ भन्दै थिए गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी ।  

विसं २०६० मा उनले आफ्नै पहलमा सो विद्यापीठको स्थापना गरेका थिए । नेपाल सरकारको ८ नं प्रति जग्गामा भोगाधिकार लिएर ३२ रोपनी जग्गामा अहिले विद्यापीठ छ । विद्यापीठका प्राचार्य सहप्राध्यापक डा.रामचन्द्र कँडेलका अनुसार सापकोटाकै पहलमा जग्गा प्राप्तिदेखिका सबै काम हुँदै आएका थिए । हाल विद्यापीठमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धनमा कक्षा ११ र १२ को पढाइ हुन्छ भने नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा संस्कृत विषयमा शास्त्री तहको पढाइ हुँदै आएको छ । जहाँ दलित समुदायका व्यक्ति एवं छात्राहरु पनि अध्ययनरत छन् । 

सुरुआती चरणमा उत्तरमध्यमाको पढाइबाट विद्यापीठ सुरु गरिएको हो । सुरुमा ४१ जना विद्यार्थीबाट थालिएको पठनपाठनका काम पछि उत्तर मध्यमा खारेज भएसँगै कक्षा ११ र १२ पनि सुरु भयो । विसं २०६७ मा विद्यापीठले आंगिक मान्यता पायो । अहिले विद्यापीठमा ९६ जना विद्यार्थी अध्ययनरत छन् । आङ्गिक पाएसँगै शास्त्रीको पढाइ थालिएको कँडेलले जानकारी दिए । 

विद्यापीठ स्थापना गर्दै गर्दा धेरै कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको छ । विद्यापीठको भुइँतला मात्रै नौ हजार दुई सय चार वर्गफिट छ । यो तीन तले भवन छ । कँडेल भन्छन्, ‘ठूलो भवन बनाउँदै गर्दा धेरै कार्यक्रम हामीले सञ्चालन गर्ने उद्देश्य राखेका हौँ ।’ नेपाल सरकारको रु एक करोड र विसं २०६१ मा ज्ञान महायज्ञ लगाएर रु ८० लाख नगद सङ्कलन गरेर सोही भवनमा खर्च गरिएको छ । सापकोटाकै नेतृत्वमा भएको महायज्ञमा गैंडाकोटवासीले स्वतस्फूर्त सहयोग गरेका हुन् । 

हरेक वर्ष राज्यका तर्फबाट सहयोग भने आइरहेको छ । कँडेल भन्छन् ‘अध्यक्ष तिलक सापकोटा उभिएपछि स्थानीय, प्रदेश र सङ्घबाट सहयोग गर्न धेरै तयार हुँदै आएका थिए । तर शैक्षिक कार्यक्रम भने ल्याउन सकिएन ।’

शास्त्रीसँगै नेपाल सँस्कृत विश्वविद्यालयमा रहेका आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा विज्ञान र थापत्य शास्त्र (वास्तु इञ्जिनियरिङ) यिनीहरु सञ्चालन गर्ने संकल्प उनीमा थियो । धेरै खर्चिलो हुने भएकाले समुदायले सञ्चालन गर्न नसक्ने हुँदा सरकारसँग हारगुहार गरिएको कँडेल बताउछन् । उनले भने ‘सापकोटाको अन्तिम ईच्छा यी कार्यक्रम सञ्चालन गर्नु थियो । उहाँप्रति सच्चा श्रद्धाञ्जलीका लागि यी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

कार्यक्रमका लागि उनले त्यसै क्षेत्रका सांसद प्राडा शशाङ्क कोइरालासहितको सहयोग लिएर विभिन्न निकायमा धाइरहेका थिए । कँडेल सापकोटा नलागेको भए गैँडाकोटमा विद्यापीठ नै आउन सम्भव नरहेको बताउछन् । यसलाई स्थापना र आंगिक बनाउनेमा सांसद प्राडा कोइराला, शङ्करप्रसाद पाण्डे, तत्कालिन संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा माधवराज गौतमको योगदान रहेको छ । सापकोटाको आग्रहमा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको अनुरोधपछि प्रधानमन्त्री माधवकुमार नेपालले विद्यापीठलाई आङ्गिकको निर्णय गराएको  कँडेलको भनाइ छ । संस्थाप्रतिको समर्पण निकै रहेको स्मरण गर्दै कँडेलले भने, ‘उहाँले राती १२ बजे पनि फोन गरेर भोलि बिहानै डेलिगेसन जानुपर्छ भन्नुहुन्थ्यो ।’

थप कार्यक्रमका लागि संस्कृत विश्वविद्यालय, शिक्षा मन्त्रालय, गण्डकी प्रदेश सरकार लगायतका निकायमा फाईल पेस गरिएका छन् । कँडेलले भने, ‘पछिल्ला वर्षहरुमा घरमा जो भेट्न आए पनि सापकोटाले यिनै कार्यक्रमका लागि पहल गर्न अनुरोध गर्नुहुन्थ्यो । यी कार्यक्रमका लागि अक्सिजन साथमा बोकेर विश्वविद्यालय, शिक्षा मन्त्रालय, गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई भेट्न उहाँ स्वयं पुग्नुभएको छ ।’ आफू अस्वस्थ रहँदा पनि उहाँमा सधैँ यो चिन्ता हुने गरेको विद्यापीठका कोषाध्यक्ष ओमप्रसाद सापकोटाले बताए । 

उनका अनुसार पाठ्यक्रम नै बनाएर विश्वविद्यालयमा पेस गरिएको छ । उनले भने ‘बाँचुन्जेल उहाँले सङ्घर्ष गरेर परिकल्पना गरेको विद्यापीठका कार्यक्रम सञ्चालन गरेर उहाँका सपना पूरा गर्नुपर्छ ।’ उनको मुख्य उद्देश्य संस्कृत भाषाको संरक्षण र जगेर्ना गर्नु रहेको थियो । संस्कृत, संस्कार, वैदिक दर्शन, संस्कृत वाङ्मय, भाषामा शुद्धता उनका चिन्ताका विषय हुने गरेको ओमप्रसाद बताउछन् । विद्यापीठका बरिष्ठ सदस्य केशवप्रसाद सापकोटा उनले सामाजिक र राजनीतिक क्षेत्रमा धेरै काम गरेको स्मरण गर्दै सबैभन्दा बढी लगाव पिद्यापीठ र त्यसका कार्यक्रम रहेको बताउछन् । 

नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा मतिप्रसाद ढकाल स्वर्गीय तिलक सापकोटाजस्ता समाजसेवी एवं शत्पात्रको सपना पूरा गर्न पनि कालिका विद्यापीठमा उनले कल्पना गरेका आयुर्वेद लगायतको विषयमा पठनपाठन सुरु गर्नुपर्छ भन्छन् । उनी भन्छन, ‘म त भन्छु कालिका विद्यापीठमा मात्र नभएर मुलुकका हजारौँ हजार क्याम्पसमा आयुर्वेद विषयको पठन पाठन तत्कालै सुरु गर्नुपर्छ । हाम्र बहुमूल्य औषधीय जडीबुटी वनस्ततिहरु गुन्द्रुकको भाउमा विदेसिएका छन् र तिनै जडीबुटीमा अनेकथरी रसायन मिसाएर महंगो औषधीका रुपमा स्वदेश भित्रिन्छन् र हामी तिनै औषधी सेवन गर्न बाध्य भएका छौँ ।’ 

डा ढकालको सुझाव छ, ‘स्वदेशका औषधीय मूल्य भएका असङ्ख्य जडीबुटीको सदुपयोग गरी आयुर्वेक चिकित्सा पद्दतिको विकास गर्नुपर्ने उहाँको भनाइ छ । औषधि खरिदका लागि बर्सेनि हाम्रो अरबौँ रुपैयाँ बाहिरिन्छ तर हामीसँग उपलब्ध भएका औषधीय वन वनस्पतिको सदुयोग गरी आयुर्वेद शिक्षाको प्रवद्र्धमा लाग्न सकेका छैनौँ, यसप्रति राज्यको ध्यान जतिसक्दो चाँडै पुगोस् ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर