• २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022

९३ वर्षका वृद्धः जो ओनसरीलाई भोट माग्दै हिंडेका छन्

काठमाण्डौं ।  पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीलाई ९३ वर्षीय वृद्धले जितको शुभकामना दिँदै माला लगाइदिएका छन् ।

काठमाण्डु–२ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार घर्तीलाई चुनावी घरदैलोका क्रममा शंकरापुर नगरपालिका–१ नाङ्लेभारे चापाबोटका ९३ वर्षीय देवदत्त दंगालले आशिर्वाद दिएका हुन् ।

ओनसरी गठबन्धनका तर्फबाट काठमाडौं–२ (ख) उम्मेदवार एकीकृत समाजवादीका नेता भरतप्रसाद फुयाँलसहित चुनावी घरदैलोका क्रममा काठमाण्डौंको विकट नाङ्लेभारे पुगेकी थिइन् ।

ओनसरी घरदैलोमा आएको सुनेपछि दंगाल आफैं फूलको माला बोकेर सडकमा उभिएका थिए । आफ्नो स्वागतमा वृद्ध उभिएको देखेपछि घर्तीले परेबाट गाडी साइड गर्न चालकलाई भनिन् ।

गाडीबाट ओर्लिएर नमस्कार गर्दै उनी दंगाल भएतिर गइन् । दंगाल दम्पत्तिले सयपत्री फूलको माला लगाएर घर्तीलाई जितको शुभकामना दिए  ।

‘यो ठाउँको विकासका लागि तिमिले जित्नुपर्छ नानी, मलाई विश्वास छ तिमिले जित्छौ । छरछिमेक सबैतिर मैले तिमिलाई भोट दिनुपर्छ भनेको छु’, दंगालले भने ।

काठमाण्डौं भए पनि बत्ती मुनिको अँध्यारो सरह आफ्नो ठाउँ पछि परेकामा वृद्धले दुःखेसो पोखे । आफूहरुको पुस्ताले धेरै सास्ती खेप्नु परे पनि नाती÷पनाती पुस्तका लागि विकास गरिदिएको हेर्ने इच्छा रहेको दंगालले बताए । 

४६ वर्षीया ओनसरीले आफ्ना बाबुभन्दा पाका उमेरका वृद्धको स्वागत र आशिर्वादबाट खुसी हुँदै आफ्नो गलामा लगाएको माला दंगाललाई लगाइदिइन् र आशिर्वाद लागोस् भनिन् ।

उनले आफूले चुनाव जितेपछि काठमाण्डौं–२ को विकासबाहेक अरु कुरामा ध्यान नदिने भन्दै आश्वस्त पार्न खोजिन् ।

‘विकासकै लागि यहाँ आएकी हुँ । हामीले यो क्षेत्रको विकासका लागि धेरै योजना बनाएका छौं, मौका पाएँ भने काम गरेर देखाउँछु ।’

छुट्ने बेलामा ओनसरीले वृद्धसँग तस्बिर चिखाउने इच्छा गरिन् । सामूहिक तस्बिर खिचाएपछि उनी हात हल्लाउँदै बिदा भइन् । ओनसरी गाडी चढ्नै लाग्दा वृद्धले भने, ‘जितेपछि फेरि आउनू है ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर