• २०७९ मङ्सिर १३ मंगलबार
  • Tuesday, 29 November, 2022

सिनेमा : पुरुषभित्र हराएको महापुरुष

अहिले राजनीतिमा चुनाव र सिनेमामा महापुरुष चर्चामा छन्। राजनीतिमा महापुरुष हुने दौड सबैमा छ। हिन्दी सिनेमाका नायक  अनिल कपुरले राजनीतिक महापुरुषको राम्रो भूमिका दिए।  जसले भारतीय राजनीतिमा  ठूलो प्रभाव  पार्याे। नेपाली  जनता अहिले यस्तै महापुरुषको खोजीमा छन् । सिनेमाले   महापुरुष बनेका युक्रेनका राष्ट्रपति  अहिले युद्धको असन्तुलित कुटनैतिक अप्ठ्यारामा छन्। महापुरुष जन्मिँदैन, बनिन्छ, भन्ने यि राम्रा उदाहरण हुन् । 

 अहिले नेपाली कथानक चलचित्र महापुरुष कै चर्चा गरौं । सिनेमामा  एकल पुरुषका  पिडा, मर्म ,कथा ,अन्तरद्वन्द मार्मिक रूपमा  देखाउने कोशिस गरिएको छ।  सिनेमामा पुरुष भित्र महापुरुष खोजिएको हो? वा समाजले पुरुषलाई महापुरुष बनाउन खोजेको हो? सिनेमा हेरेपछि  यी विषयमा खुल्दुली जाग्छ।

उपन्यास, कथा, कविता, सिनेमा साहित्यकाे उत्कर्षले पाठक र  दर्शकको मन जित्छ। उत्कर्षलाई अल्मल्याएर  दर्शकलाई थप  उत्सुक्ता दिने सिनेमा साहित्य उत्कृष्ट मानिन्छ । नेपाली दर्शकबीच सिनेमाकाे उत्कर्षमा महापुरुष शिर्षकमा प्रश्न खडा भइरहन्छ  । सिनेमाले समाजमा पुरुषको बहुआयामिक उपस्थितिलाई यौन मनोवैज्ञानिक परिधिभित्र राखेर  समाजकाे पुरुषत्व संस्कृतिलाई थप मलजल गरेकाे छ। किनकि सिनेमाको सुरुदेखि अन्तिमसम्म बाबु र छोराको प्रेम र विवाहलाई कथा र  पटकथाले पछ्याएको छ। नारी पात्रको इच्छाभन्दा महापुरुषको दौडमा हिँडेका पुरुषहरूको इच्छ्यालाई सिनेमाले देखाएको छ।

नेपाली सिनेक्षेत्रमा हरिवंश आचार्य र मदनपृष्ठ श्रेष्ठ आफैंमा महापुरुष हुन्।  उनीहरुले नेपाली दर्शकमाझ महापुरुषको सम्मान पाइसकेका छन्।  सायद त्यसैको फाइदा महापुरुष सिनेमाले उठाएको छ। सिनेमाभित्र अभिनेता राजाराम पौडेल महापुरुषको दौडमा सफल छन् । सायद जेठो छोराले मेरा बा  पुस्तक बिमोचन गर्न पाएको भए हरिवंश आचार्यको नायकत्वमा थप महापुरुष जोडिनेमा शंका थिएन।  मदनकृष्ण श्रेष्ठको भूमिका महापुरुष तिर तेर्सिन्छ तर उनी मुख्य नायकलाई  पुरुषबाट महापुरुषमा पुर्याउन असमर्थ छन्। सायद कथाको इच्छ्या यसैमा थियो। तर महापुरुषको कथा यतिमा टुंगिदैन। त्यसैले महापुरुष सिनेमा  नेपाली दर्शकमाझ बिजोडले मनपराइएको हुनसक्छ।

पुरुष लोग्नेमान्छे मात्र होइन । स्त्री स्वास्नीमान्छे मात्र होइन।  स्त्रीण  र पुरुषत्व लोग्ने र स्वास्नी मान्छेमा बराबरी हुन्छ। त्यसैले कहिले पुरुष कोमल बन्छ। कहिल्ये स्त्री कठोर। अध्यात्म शास्त्रमा विष्णु र महादेवको दुवै स्वरुपलाई अर्धनारीश्वर स्वरूप मानिन्छ। दर्शनले यही भन्छ। फ्रायड सामाजिक मनोविज्ञानलाई  चेतनाको तल्लो स्तरसम्म विश्लेषण गर्छन् र पुरुष र महिलाको प्राकृतिक सम्बन्ध यौन मनोविज्ञानमा प्रमाणित गर्छन। समाजलाई स्थापित र उन्नतिमा यौनाकर्षण महत्वपूर्ण हुन्छ भन्ने उनको  मुख्य धारणा हो । अंग्रेजी सिनेमा साहित्यमा यो दर्शन १९औं शताब्दी सम्म खुब चल्यो। र भारतीय सिनेमामा अवतार , वागवान ,सौतन जस्ता सिनेमाहरुले   समाजमा निकै ठूलो प्रभाव पारे। नेपाली महापुरुष सिनेमामा यही सामाजिक मनोविज्ञानलाई देखाउन खोजिएको छ। विषय नयाँ भन्दा पनि रोचक लाग्छ ।

पश्चिमा पुरुष र महिलाहरु ८० बर्षको उमेरसम्म आफूलाई जवान ठान्छन् र आफ्नोलागि आफै काम गर्न रुचाउँछन् ।हामी नेपालीहरु ६० वर्षमा  रिटायर्ड हुन्छौं र सामाजिक बन्धनमा  पर्न मन पराउँछौ। कर्मशील पुरुष र नारी भन्दा मर्म दबाउने परिवारको सदस्यमा समर्पण हुन खाेज्छौ हामी बुढो भएपछि। यो हाम्रो सामाजिक वाध्यता हाे । महापुरुष सिनेमामा  छोराहरुले बा को मनोविज्ञान नबुझेको विषयलाई देखाउँछ। सबै बाहरू चौतारामा यही सामाजिक बन्धनबाट मुक्त हुन खोज्छन् । तर कर्मशील देखिँदैनन्। कर्मशील महापुरुष यो भन्दा माथि उठ्छ।

कथाका नायक हरिवंश आचार्य यही सामाजिक  बन्धनबाट पीडित छन्। उनको  इच्छा  सामाजिक बन्धनको द्वन्दमा सीमित छ । आफू महापुरुष हुन अगाडि आउन पनि नसक्ने र तारतम्य मिलाएपछि बाबु र छोराको एकै मण्डपमा विवाह रुचाउने कान्तिकारी अभिनयले  पुरुषलाई कहाँनेर  महापुरुषमा परिभाषित गर्छ ? सिनेमा हेरिसकेपछि चलचित्रभन्दा कथाको अलमलले बढी ध्यान केन्द्रित गर्छ।

एकल पुरुषको  मार्मिक एकालापलाई सिनेमाले थप मार्मिक बनाएको छ। यो एकालाप सामाजिक भन्दा  बढी ब्यक्तिगत सुखमा केन्द्रित छ । यो  सामाजिक यथार्थ भित्रको हार्दिक आग्रह हो।यसले कता कता मन चस्स दुख्छ । र कोमल दर्शकहरुबाट आशु पनि छचल्किन्छ। किनकि समाज विविध मर्महरूको नदेखिने तस्विर हो। 

यसलाई चित्रण गर्न चलचित्र निर्देशक केही सफल पनि छन्। तर   चलचित्र नारी मनको  गहिरो तलसम्म पुग्न सकेको छैन।  समानधर्मी नारी पात्रलाई महापुरुष बन्ने दौडमा प्रयोग गरिएको छ। नायिका गौरी मल्लको प्रस्तुति संवेदनशिल  भन्दा बढी कुशल अभिनयमा देखिन्छ। उनको पानीमा भिजेर बाहिरिँदै गरेको दृश्य ७० काे  दशकका भारतीय सिनेमामा देखिने उच्च नारी मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। तर महापुरुषमा सशक्त नारी पात्रलाई‌ मुख्य नायकको मर्मको वरिपरि घुमाएकाे  छ। जसले अर्धनारीश्वर मर्मलाई पूर्ण चित्रण नगरिएको भान हुन्छ। 

हाम्रो समाजमा विधवा महिलालाई पुन बिबाह गर्न कठिन छ ।अझै समाजले स्वीकार गर्दैन।  विधुर पुरुषहरुको मर्म त्यो भन्दा कम छैन। यो सामाजिक यथार्थ हो। यो यथार्थलाई चलचित्रको कथाले मार्मिक रूपमा प्रस्तुत गरेकाे छ। तर महापुरुष शीर्षक चलचित्र कथाले कता कता स्थापित  नायकमा महापुरुष  सार्थकता  खोज्दो रहेछ। यहिनै  पुरुष भित्रमा महापुरुष अल्मलिएको , पुरुष भित्र महापुरुष हराएको, भान हुन्छ। अहिले नेपाली चलचित्रहरू राम्रा छन् ।त्यसैमाथि यो चलचित्रले  महापुरुष बन्ने दौडमा  नयाँ इटा थपेकाे छ।हाम्रो राजनीति र चलचित्र दुवैमा महापुरूषहरूको आगमन होस। महापुरुष बन्ने दौडमा पुरुषहरु नहराउँन । चलचित्रको सफलताको शुभकामना।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर