• २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022

'निर्वाचनमा नोट हाेइन भाेट हालाैं '

देशमा निर्वाचनको माहोल तातेको छ। दलहरूले आआफ्ना उम्मेदवार घोषणा गर्दै छन्। दलहरूका घोषणा पत्र पनि आउँदै छन्। निर्वाचन आयोगले आफ्नो तयारी पनि गरिरहेको छ। आवधिक निर्वाचन भनेको लोकतन्त्रको सुन्दर पक्ष पनि हो। गाउँटोल छरछिमेकमा चुनावी चहलपहल बढ्दै जाँदा रमाइलो पनि छ।

पछिल्लो चरणका केही आवधिक चुनावको स्थिति हेर्दा भोटलाई नोटले खरिद गरेको देखिन्छ। निर्वाचनमा पैसाको खोलो नै बगाउनु पर्ने अवस्था देखिन्छ। स्थानीय निकायको वडामा लाखौं र प्रमुख तथा उपप्रमुखमा करोडौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ। दलबाट नै टिकट  पाउँदादेखि लिएर मतदाता किन्न र चुनाव प्रचारप्रसार गर्न पैसाको खोलो बगाउन पर्ने देखिन्छ । 

जनताको प्रतिनिधि हुनको लागि  अब अति निम्न,निम्न,मध्यम वर्गको व्यक्ति  उम्मेदवार बन्न नसक्ने अवस्था छ।जनताको प्रतिनिधि भनेको उच्च र अति उच्च वर्गको मान्छे मात्र हुन सक्ने अवस्था देखिँदै छ।मान्छेहरू हाकाहाकी यति खर्च गर्न सक्छस् भने उठ नत्र चुप बस् भन्न थालेको सुनिन्छ। नेपालको राजनीति सेवामा होइन पेसा र लुटमा परिणत भएको देखिन्छ।देशकै प्रमुख जिम्मेवार दल नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले छ करोड खर्च गर्न सक्ने कसैको हिम्मत छ ? छ भने म छोड्न तयार छु भनेर सार्वजनिक कार्यक्रममै घोषणा गरे।

यसले कस्तो सन्देश दिन्छ१आज नेपालको लोकतन्त्र लुटतन्त्रमा परिणत भएको स्पष्ट नै देखियो त१देशको जिम्मेवार नेताले यसरी खुलमखुल्ला आफूले पैसाबाट भोट किनेको भनेर घोषणा गरे। यहाँ मात्र शशांक कोइराला हैन धेरैले घुमाउरो पाराले पहिले नै भन्दै हिँडेका थिएँ। अहिलेको परिस्थिति हेर्दा नेपालमा अब सर्वसाधारण आम नागरिकले राजनीति गर्न नसक्ने अवस्था छ। जसले पार्टीलाई सबैभन्दा बढी पैसा दिन सक्छ उसैले टिकट पाउँछ र जसले चुनावमा प्रशस्त पैसा खर्च  गरेर भोट किन्न सक्छ त्यसैले जित्छ। आज भोटलाई बार्गेनिङ गरेर बढिबढाउमा किनबेच गरिँदैछ।

निर्वाचनमा देखिने यस्ता विकृति रोक्न राज्यका थुप्रै निकायहरू रहेका छन् तर ती सबै निष्क्रिय छन् । नेपाल सरकारका विभिन्न निकाय र संवैधानिक आयोगहरू निर्वाचन आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पत्ति शुद्धीकरण विभाग, पुलिस प्रशासन आदि चुप्प लागेर बसेको देखिन्छ। कानुन अनुसार कुनै दल वा प्रतिनिधिले बदमासी गर्छ भने तुरुन्त एक्सनमा जान सक्ने हो भने कुनै किसिमको बदमासी हुन पाउँदैन।

राज्यका सबै अङ्गहरू कहिँ न कतैबाट राजनीतिको प्रभावमा परेका छन्, चुकेका छन् र बिक्रि भएका छन् अनि काम गर्न सक्दैनन्। जब निर्वाचनमा पैसाको चलखेल हुन्छ अनि स्वच्छ मतदान हुन पाउँदैन सबैको मुखबाट एउटै कुरा सुनिन्छ, जसरी भए पनि चुनाव जित्नु पर्छ। साम,दाम,दण्ड,भेदको नीति अपनाएर भोट किनेर जितेको प्रतिनिधिले किन जनताको काम गरोस्। अब उसले चुनावमा खर्चेको  पैसा उठाउनतिर लाग्छ र उसको ध्यान चौबीसै घन्टा कमाउनतिर हुन्छ अनि जनताका समस्या जहाँको त्यहीँ नै हुन्छन् र आजसम्म त्यही नै भएको छ।

राजनीतिलाई पेसा बनाउँदा नेपाल देश र नेपाली जनताको उन्नति र प्रगतिमा अवरोध भइरहेको छ। बहुदलीय प्रजातन्त्र पुनः बहाली भएको तीन दशक पार गर्दा पनि प्रजातन्त्र बलियो हुन नसक्नु अत्यन्तै दुःखको कुरा हो।कुनै बेला एकसुका खर्च नगरी भएका चुनाव आज लाखौं खर्च गर्नु पर्ने भएको छ।यो सबै विकृतिको चरम रुप हो।नेपालका  सबै दलहरू स्वच्छ प्रतिस्पर्धामा उत्रिने हो भने सुको पैसा खर्च नगरी चुनाव जित्न सकिन्छ।कुनै बेला मकै र भट्ट खाएर मात्र पनि चुनाव जितेका थुप्रै  उदाहरणहरू छन्।

आज एउटा सामान्य इमान्दार कार्यकर्ताले टिकट पाउँदैन। तस्कर,व्यापारी,ठेकेदार, उद्योगीले मात्र चुनाव जित्ने अवस्था छ।गाउँ गाउँमा सिंहदरवार बनाउने नाममा गाउँमा आएको बजेट यस्तै पार्टीका टीके र झोले प्रतिनिधिको हातमा पुग्छ अनि कसरी  गाउँको विकास हुनसक्छ र, स्थानीय सरकार भनेका समाजसेवा गर्ने भन्दा पनि दलका कार्यकर्ता व्यवस्थापन गर्ने ठाँउ बनाइएको छ। आज यसले गर्दा निर्वाचनमा विकृति र स्थानीय सरकारमा भ्रष्टाचार मौलाएको छ। निर्वाचनलाई कम खर्चिलो र स्थानीय सरकारलाई भ्रष्टाचाररहित  बनाउन दलहरूले एउटा इमान्दार समाजसेवीलाई टिकट दिनुपर्छ।

जनप्रतिनिधि भनेको आम जनताको भविष्यसँग जोडिएको हुनाले मतदाता पनि अत्यन्तै चनाखो हुने हो भने निर्वाचन स्वच्छ र धाँधलीरहित हुन सक्छ।आज मतदाताहरू पनि एक बोतल रक्सी र दुई चोक्टा मासुमा बिक्रि भएका छन्। दल वा प्रतिनिधिलाई दोष लगाएर उम्कने अवस्था छैन। अब समयले हामीलाई माफी दिँदैन। जबसम्म जनताको भोटलाई नोटसित साटिन्छ तबसम्म लोकतन्त्र बलियो हुन सक्दैन।पैसाको चलखेललाई अन्त्य गरी स्वच्छ र मर्यादित निर्वाचन नहुँदासम्म लोकतन्त्र बलियो हुँदैन।सम्विधान वा कानुनका किताबहरूमा विकास,समृद्धि र  अधिकारका कुराहरू जतिसुकै ठूला अक्षरले लेखे पनि राजनीतिमा रहेको   दुर्गन्ध र अनियमिततालाई अन्त्य नगरेसम्म  जनताले कुनै किसिमको सुखको सास फेर्न सक्दैनन्।

नेपाल सरकारका सबै अङ्गहरू चुस्त र दुरुस्त हुने र पार्टीहरूले प्रतिबद्धता देखाउने हो भने भने उम्मेदवारले एक पैसा खर्च नगरे पनि चुनाव हुन्छन् र जित्छ्न् पनि।इमान्दार नेता र कार्यकर्ता छन् भने जनताले आफ्नो गाँस काटेर प्रतिनिधिलाई पाल्न सक्छन्। बहुदलीय प्रजातन्त्र आएपछिका सुरुका निर्वाचनमा नेताको एक कप चिया नखाई पार्टीका कार्यकर्ता खल्तीमा मकैभट्ट राखेर चुनाव प्रचार प्रसारमा रातदिन नभनी हिड्थे। प्रचार सामग्री आफै बनाउँथे अनि चुनाव आफैले जितेको अनुभूति हुन्थ्यो।जनप्रतिनिधि र जनता बिचमा सुमधुर सम्बन्ध हुन्थ्यो।आज लोकतन्त्र बलियो हुँदै जाला भन्दा राजनीति कमाउने पेसामा परिणत भयो र जनता भोट छाप्ने मेसिन जस्ता निरीह हुनु परेको छ।

अबको निर्वाचनलाई भड्किलो,खर्चिलो र किनबेच हुनबाट जोगाउन सबै सचेत हुनुपर्छ।टोल र छरछिमेकमा निर्वाचनको बारेमा विगतका जनप्रतिनिधिले के कस्ता काम गरे वा गरेनन् भनेर जनता आफैं बहस चलाउनु पर्छ। राम्रो नराम्रो चिन्नु पर्छ नकि क्षणिक दुईचार पैसाको लोभमा आफ्नो भविष्यलाई अझै अन्धकारमा धकेल्नु हुँदैन।घरघरमा आउने उम्मेदवारलाई उसका आगामी योजनाका बारेमा भन्न लगाउनु पर्छ र कसम नै खुवाउनु पर्छ।अर्को कुनै बिक्री भयो भनेर आफू पनि बिक्री हुनु हुँदैन।एउटा भोटको ठूलो महत्त्व रहेको हुन्छ। अबको सम्भावित को हुन सक्ला,उसको कार्यशैलीको बारेमा समीक्षा गर्नुपर्छ र जो योजना र प्रतिबद्धतासहित उम्मेदवार हुन्छ र इमान्दार छ,त्यस्तालाई जिताउनु पर्छ।

अहिले निर्वाचनमा देखिएको महारोग भनेको भोटको किनबेच नै हो यसलाई निर्मूल गर्न सक्ने हो भने स्थानीय निकायमा भ्रष्टाचारको जरो पस्न पाउँदैन। निर्वाचित जनप्रतिनिधिलाई भ्रष्टाचार गर्न रोक्ने हो भने आधारभूत आवश्यकता र सामान्य भौतिक  पूर्वाधारका कुराहरू एउटै कार्यकालमा पूरा हुन सक्छन्। जनताले आफू स्वतन्त्र भई कुन दल,कुन नेता,कस्तो सिद्धान्त जस्ता विषयमा स्वनिर्णय गर्नुपर्छ। यसले एउटा सच्चा जनप्रतिनिधि पाउन सकिन्छ। मतदाता भोट छाप्ने मेसिन नबनी निर्वाचनमा पैसा नै खर्च नगरी निर्वाचन  सम्पन्न गर्न सक्ने हो भने भ्रष्टाचारको  सम्भावना  कम हुन्छ। पैसावाला वा प्रशस्त पैसा खर्च गर्नेभन्दा इमान्दार,सज्जन र सेवामुखी भावना भएको उम्मेदवारलाई रोज्नुपर्छ। राजनीतिमा इमान्दार महत्त्वपूर्ण पक्ष हो।मुलुक र जनताप्रति इमान्दार र दृढ संकल्प भएको जनप्रतिनिधिलाई निर्वाचित गरौँ र आम मतदाता भोट छाप्ने मेसिन नबनौँ। आफ्नो विवेकले आफूले चाहेको हाम्रो होइन राम्रो जनप्रतिनिधिलाई रोजौँ। निर्वाचनमा नोट होइन भोट हालौँ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर